बिर्तामोड / विश्वका विभिन्न स्थानमा आरामदायी होटल सञ्चालन गर्दै आएको ‘चेन होटल’ का रुपमा रहेको शिन्तामणी होेटलले अब मुस्ताङको चर्चित मोक्ष होटलको व्यवस्थापन गर्ने भएको छ । विश्वका चर्चित होटल मध्येको एक होटलका रुपमा रहेको होटल शिन्तामणिले अब नेपालमा पनि सेवा दिने भएको हो । एक अर्ब १० करोड लगानीमा निर्माण भएको मोक्ष होटल आगामी अक्टोबरदेखि शिन्तामणी होेटलले व्यवस्थापन गर्ने दुई पक्षीय सम्झौता भएको छ । कोभिड-१९  कारण लामो समयसम्म सञ्चालनमा नल्याइएको मोक्ष होटल अक्टोबरदेखि सञ्चालन भएपछि खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ ।

कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ । कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ । लक्जरियस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गरिने शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले बताए । शिन्ताममणि होटलका निर्देशकसमेत रहेका आर्किटेक्चर बेन्स्लीले मोक्ष होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जानकारी दिए ।