स्याङ्जा / स्याङ्जामा जोड्ने निर्माणाधीन अवस्थामा रहेको पुल भत्किँदा आठ कामदार घाइते भएका छन् । चापाकोट–८ प्याकलुक स्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुर नगरपालिकालाई जोड्न बनाउँदै गरेको पुल आइतबार राति भत्किँदा आठ कामदार घाइते भएका हुन् । 

पक्की पुल निर्माण कार्यमा फलामको बिम माथि उचाली जडान गर्ने क्रममा बिम सहित खस्दा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराको हरिहरपुर–८ का २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल र गोरखाको मिरासन गाउँपालिका–४ का २३ वर्षीय सृजन परियार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यस्तै‚ भारत बिहारका २५ वर्षीय धनञ्जय ठाकुर, २१ वर्षीय सुजित कुमार यादव, ४८ वर्षीय रघुनाथ राव र २५ वर्षीय अनुपकुमार राव समेत घाइते भएका छन् ।

घाइते मध्ये रामनिवास कुमार पटेल र धनञ्जय ठाकुरको अवस्था गम्भीर रहेको छ भने उनीहरूको पाल्पास्थित लुम्बिनी मेडिकल शिक्षण अस्पताल प्रभासमा उपचार भइरहेको छ ।