धरान / कांग्रेसका नेताहरूको  ‘लबिङ’ पछि गृहमन्त्रालयले इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको काज सरुवा गरिदिएको छ । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस नेताहरूले धरानमा आफू अनुकुलको डीएसपी नभएको भन्दै गृहमन्त्रीसँग नयाँ डिएसपीको माग गरेपछि गृहमन्त्रालयले कुँवरको काज सरुवा गरिदिएको हो । 

सामान्य रुपमा एक वर्ष पुरा भएपछि मात्र डिएसपीको सरुवा हुने भएपनि डीएसपी कुँवर धरानमा प्रहरी प्रमुख भएर आएको नौ महिना हुँदै सरुवा भएको छ । कुँवरलाई विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । 

यसरी राजनीति पार्टीले आफू अनुकूलका डिएसपीको सरुवा गर्ने गर्दा शान्ति सुरक्षा कार्यान्वयन चुस्त दुरुस्त नहुने कुरा सँगै प्रहरी सङ्गठनमा राजनीति हाबी भएको प्रस्ट देखिन्छ । 

कुँबरले गरेको काम र मेहनतको मूल्याङ्कन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको (पुलिस अफ दि मन्थ) घोषित गरेको थियो ।

कुँवरलाई आइतबार एक कार्यक्रम आयोजना गरी इलाका प्रहरी कार्यालयबाट बिदाइ गरिएको छ । धरानको जिम्मा भने डीएसपी बुद्ध श्रेष्ठले पाएका छन्।