झापा / प्रक्रिया मिलेका सबै ठाउँमा आगामी स्थानीय तहको चुनाव अघि नै देशैभरका सुकुम्बासीले जमिन पाउने भएका छन् । चुनावअघि नै देशैभरका सुकुम्बासीले जमिन पाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले बताए । उनले आइतबार सिन्धुलीको दुधौली नगरपालिका–९ लखिमा दोकानडाँडाका भूमिहीन दलित मुसहर समुदायलाई लालपुर्जा वितरण गरेका थिए ।
दुधौली नगरपालिका–९ लखीमा दोकानडाँडाका कुल १ सय ६ जना मुसहरलाई जमिनको स्वामित्वसहित लालपुर्जा वितरण गरिएको छ । वागमती प्रदेश सरकारले लखीमा दोकानडाँडामा गएको एक वर्षअघि एकीकृत बस्ती निर्माण गरी मुसहर समुदायहरुको बसोबासको व्यवस्था गरेको थियो । मुसहरबस्तीमा जमिनको भोगचलन गर्दै आएका दलित मुसहरहरुलाई न्यूनतम एक कट्ठादेखि पाँच कट्ठासम्म जमिनको स्वामित्व लालपुर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले बताए । सरकारले सोही मुसहरबस्तीमा बसोबास गर्दै आएका १ सय ६ जना मुसहर र सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।




































