काठमाडौं / सशस्त्र प्रहरी बलका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । 

सशस्त्र प्रहरीका डिआइजी रहेका पौडेललाई बढुवा समितिको बुधवार बसेको बैठकले एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । 

सशस्त्र प्रहरी बलको नेतृत्वमा फेरबदल भएर एआईजी रहेका राजु अर्यालको आइजीपीमा बढुवा भएसँगै अर्का एआईजी रामशरण पौडेलले पनि सेवा अवधीका कारण अवकाश पाएका थिए । 

सशस्त्र प्रहरीको नियमावली अनुसार दुई एआईजी हुने व्यवस्था गरिएको हुँदा दुवै पद रिक्त भएपछि बढुवा समितिले एआईजीमा वरियतामा अगाडि रहेका पौडेललाई सिफारिस गरेको हो । 

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम ९१० को (क) बमोजिम बढुवा समितिको बुधवार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था गरे बमोजिम सात दिनभित्र बढुवा विरुद्ध उजुरी दिन सकिने छ ।

 सशस्त्रमा भने अहिलेका आइजीपी राजु अर्याल भन्दा अगाडि सेवा अवधीका कारण २१ दिनका लागि मात्र पुष्पराम केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । 

सेवा अवधिका कारण एआईजी रामशरण पौडेलले पनि अवकाश पाउने भएपछि आइजीपीका एक्ला दाबेदारका रुपमा रहेका तत्कालीन एआईजी अर्याल अहिले महानिरीक्षक बनेका छन् । 

एआईजी बनेपछि मात्र आइजीपी हुन पाउने व्यवस्थाका कारण एआईजी नै भावी आइजीपी हुने भएपछि सशस्त्र प्रहरीमा बढुवाले निकै ठुलो भुमिका खेल्ने गरको छ ।