धनुषा / धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै धारिलो हतियार प्रहार भएको हो ।
उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुबामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे । घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।






































