काठमाडौं / नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहको नियुक्ति विरुद्ध एआईजीपी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बहस सकिएको छ । 

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको सो रिटको सुनुवाइ बुधबारदेखि सुरु भएपनि त्यसको बहस भने आजमात्रै सकिएको हो । 

सो रिटमाथि पाँच जना अधिवक्ताहरूले बहस गरेका थिए । बुधबार बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको सो रिटको आदेश आउने अनुमान गरिएको छ ।  

आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल , रमेश बडाल सहित एआईजी पोखरेलले समेत बहस गरेका थिए । 

आफूभन्दा वरियतामा तल रहेकालाई आईजीपी नियुक्त गर्नु आफ्नो लागि मृत्युभन्दा दुःखद भएको बताएका थिए । बुधबार पहिलो बहसमा पोखरेलको तर्फबाट अधिवक्ताहरू मेघराज पोखरेल, सतीश  कृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए ।

त्यस्तै, आईजीपी नियुक्त भएका धिरजप्रताप सिंहले पनि आफ्नो तर्फबाट बहसका लागि वकिलहरू राखेका थिए । उनको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खाती सहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।