ओखलढुङ्गा / ओखलढुङ्गाको लिखु गाउँपालिका–८ टार केराबारीमा चट्याङ लागेर एकको मृत्यु भएको छ । ४४ वर्षीय देवबहादुर दर्जीको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।
देवबहादुर र ४० वर्षीय मेघबहादुर दर्जी चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेपछि उनीहरु घाइते भएका थिए । घटनाको विषयमा जानकारी पाउनासाथ प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोसी अस्पताल रामेछाप पठाएको थियो ।
उपचारको क्रममा देवबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।






































