बिर्तामोड / झापाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने भएका छन्।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै झापाका भारतसँग सीमा जोडिएका नाकाहरू २७ गते साँझ ७ बजेदेखि वैशाख ३० गते साँझ ७ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि झापा जिल्लासँग सिमाना जोडिएका सम्पूर्ण नाकाहरू बन्द गरिने भएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
त्यस्तै स्थानीय तह सदस्य निर्वाचनको मतदानका दिन (बैशाख ३०)गते पास बिनाको कुनै सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रशासनका कार्यालय झापाका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म पास बिनाका र अति आवश्यक बाहेक सबै सवारीसाधन बन्द रहने छ ।
एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अति आवश्यक सेवा भने सञ्चालन गर्न पाइने छ ।






































