धनुषा / आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मदिरा निषेध र भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मंगलबार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हो ।





































