झापा / शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ।

शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

१३ हजार २९७ रिक्त पदका लागि सञ्चालन गरेको परीक्षा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उत्तीर्ण भएका हुन् । 

यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी प्रदेशमा १६ हजार ९९६ जना मध्ये ३ हजार ४६८ जना, कर्णाली प्रदेशमा ८ हजार २२१ जना मध्ये १ हजार १९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८४६ मध्ये २ हजार १३२ जना उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ६ जेठसम्म २५० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

त्यस्तै आयोगले प्रावि तह तृतीय श्रेणीको विषयगत परीक्षा १३ असारमा सञ्चालन गर्ने भएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।