काठमाडौँ / विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।
मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।
कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्काशन गरेको कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले जानकारी दिएका थिए।
पक्राउ परेका शिक्षकलाई थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पुर्याउने तयारी भइरहेको महानगरिय प्रहरी वित्त काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिएका छन्।





































