काठमाडौं / सरकारले कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गर्ने भएको छ ।

मंगलबार संघीय संसद्‌मा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाई समावेश गरिने बताएकी हुन् ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम थप विस्तार गरिने बताइन् ।

यस्तै गुम्बा, मदरसा गुरुकुलले लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दिँदै आएको अनुदानलाई विद्यार्थी संख्या र सञ्चालन तह कक्षासँग आवद्ध गरिनेछ ।

दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रूपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन प्रदेश तहमा आवासीय विद्यालय सञ्चालन गरिनेछ ।