बिर्तामोड / डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ।
फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए।
तीमध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रूखका बिरुवा छन्। वन बिरुवा रु. ४७ लाख ५० हजार र फलफूलका रु. छ लाख गरी रु. ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो। बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ।
टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनो लगायतका २० प्रजातिका वन बिरुवा र आँप, कटहर, लिची, नरिवल र सुपारीको बिरुवा वितरण गर्न लागिएको उनले बताए।






































