बुटवल / रूपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । 

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका –४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका –८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा –२, योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।

यस्तै, बुटवल उपमहानगरपालिका –११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका –६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा, सीतामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५ का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ । 

बसमा दुई जना चालक र एक जना सह-चालकसहित ३३ जना सवार थिए । जसमा २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।