चितवन / तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपूरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । 

तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।

सोही घटनामा पीडित बनेका माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुःखद रहेको बताउँछन् । उनले भने, ‘घाईते हामी धेरै छौँ । जम्मा २२ जनाले मात्र राहत पाएका छन् । अरुले पाउन सकेका छैनन् ।’ 

घाइते मध्ये  ५० जनाले राज्यबाट सहयोग पाउन नसकेको उनको भनाइ छ । उनले थपे, ‘सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन् ।’ यो नाम पनि शक्तिको आधारमा राखिएको उनको भनाइ छ ।

राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उनले माग गरे । राहतका लागि राखिएका नाममध्ये २० प्रतिशतदेखि शतप्रतिशतसम्मको रहेको छ । शतप्रतिशत राहत पाउने दुई जना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उनले बताए । 

राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्यूरेले बताए । उनी अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको बताउँछन् । उनले भने, ‘बाँदरमुढे पीडितलाई परिपुरणको व्यवस्था मात्रै राज्यले गर्नसक्ने हो भने धेरै समस्या हल हुन्छ ।’ रासस