काठमाडाैँ / सुन तस्करले नयाँ–नयाँ तरिका अपनाएर तस्करीको धन्दा सञ्चालन गर्ने गरेको रहस्य बाहिरिएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीको आरोपमा गत शनिबार दिउँसो सात जनालाई पक्राउ गरेसँगै तस्करीको नयाँ रहस्य बाहिरिएको हो ।  

२१ जेठमा दुबईबाट काठमाडौँ आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरुले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सुचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

सो क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना –१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखी चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको भेटिएको हो ।

ठकुरीकाे साथबाट ५७२.१६० ग्राम र शाहीकाे साथबाट ३९६.८९ ग्राम सुन फेला परेको उपरीक्षक कोइरालाले बताए । 

काेइरालाका अनुसार उनीहरूले सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएका थिए । प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएपछि अन्य पाँच जनालाई पनि पक्राउ गरेको उपरीक्षक कोइरालाले बताए ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा –१६ घर भई काठमाडौँ बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर –४ घर भई बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने वरुण भक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन रहेका छन् ।

त्यस्तै, नवलपरासी पश्चिम सुनवाल –१० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत रहेका छन् ।