राँझा / भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। 

भारतको गोण्डासिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको हो।

शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईका अनुसार रूपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्‍याइएका थिए। १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा ती बालकलाई भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। 

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांश १२ वर्षमुनिका छन्। भट्टराईले बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकको जिम्मा लगाउने जानकारी दिइन्। 

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ। अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरूलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन।