एजेन्सी  / सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको निधन भएको छ । अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन भएको हो । 

कीर्तिमानी समय अन्तरिक्षमा बसेका उनले सन् १९९४-१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका थिए। त्यहाँ उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न सक्छन्–सक्दैनन् भन्ने अध्ययन गरेका थिए। उनको १४ महिनाको परीक्षणमा अन्तरिक्षमा बस्दा उनको कार्यशैलीमा कुनै असर पुगेन।
 
रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको उनको मृत्यु भएको घोषणा गरेको हो। उनको मृत्युको कारण भने अझै थाहा भएको छैन। अन्तरिक्ष एजेन्सी रोजकोसमोसले टेलिग्राममा लेखेको पोस्टमा पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम छ भन्ने कुरा प्रस्तुत भएको लेखेको छ।

उनको जन्म मस्कोको तुला शहरमा १९४२ मा  भएको थियो। उनी पहिले एक चिकित्सक थिए र  पछि अन्तरिक्ष यात्री बने। उनको पहिलो मिशन अगस्त १९८८ मा सुरु भयो। सो समय उनले आठ महिना अन्तरिक्षमा बिताए।

यसपछि उनले ६ वर्षपछि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान कायम गरे। जुन अहिलेसम्म कायमै छ । पोल्याकोभले ८ जनवरी १९९४ देखि २२ मार्च १९९५ सम्म मीर स्पेस स्टेसनमा काम गरे। यस क्रममा उनले ७ हजारभन्दा बढी पटक पृथ्वीको परिक्रमा गरेका थिए ।

पछि उनले मंगल ग्रहमा बिताएको समय र त्यहाँ जान र आउन लागेको समय बराबर भएको बताएका थिए। मिर स्पेस स्टेशन सन् १९८६ मा अर्बिटमा पठाइएको थियो । पहिले सोभियत संघको नियन्त्रणमा थियो र पछि रुसको नियन्त्रणमा आयो ।बीबीसी