झापा / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका -४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् । 

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका -५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।