एजेन्सी / मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या गर्ने व्यक्ति नेपाली नै रहेको खुलेको छ । 

रोजगारीको लागि मलेसिया पुगेका ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ बर्षीय कृष्णकुमार परियारको हत्या गरेको आरोपमा मलेसियन प्रहरीले ३७ वर्षीय ठाकुरप्रसाद भण्डारीलाई पक्राउ गरेको छ। भण्डारीले अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरिसकेको बताइएको छ । 

भण्डारीले कृष्णकुमार र मनोजकुमारको हत्या गत मंसिर १७ गते अर्थात (डिसेम्बरतारिक) का दिन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको शव  ओकल्याण्ड कमर्सियल सेन्टरको हाताभित्र स्थानीय प्रहरीले फेला पारेको थिए।

प्रहरीले यी दुबैको हत्याको आरोपमा भण्डारीलाई घटना भएकै दिन घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीले सार्वजानिक गरेको विवरणअनुसार हत्यामा प्रयोग भएको हतौडा पनि घटनास्थलमै बरामद गरिएको थियो।

अभियुक्त भण्डारीलाई बुधबार अपरान्ह सेरेम्बन मेजिस्टट कोर्टमा पेश गरिएको थियो र मेजिष्टेट मोहमद इब्राहिम हेहम्मद घुलामको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ।

अभियुक्त भण्डारीले के कारणले आफ्नै देशका दुई व्यक्तिको हत्या गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन। तर, अदालतसमक्ष उनीमाथि हत्याको आरोप लगाउँदा उनले कुनै प्रतिवाद नगरेको र स्वीकार गरेको स्थानीय सञ्चारमाध्यम द स्टारले लेखेको छ।