काठमाडौँ । चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले मिटरब्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटरब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।

उनी लामो समयदेखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका थिए । एक लाखको ८ हजार मासिकदेखि १५ हजारसम्म ब्याज मिटरब्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।

करिब ७ करोडभन्दा बढी पैसा उनले मिटरब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको आफन्तजनले बताएका छन् ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्युपछि अब ऋण दिने मिटरब्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।