मिर्गौलाको समस्याले अहिले धेरै मानिसलाई सताइरहेको छ। समयमै ध्यान दिन सके मिर्गौलालाई सहज तरिकाले नै जोगाउन सकिन्छ । अर्थात मिर्गौला जोगाउन हामीले जीवनशैलीलाई सुधार गर्न आवश्यक छ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका करिब ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन्। 

कतिपयलाई आफू मिर्गौलाको समस्याबाट ग्रसित रहेको जानकारी पनि हुँदैन। मानिसको शरीरमा दायाँ र बायाँ गरी दुईवटा मिर्गौला हुन्छन्, तर एउटा मिर्गौला भए पनि स्वस्थ र आरामदायी जीवन बाँच्न सकिन्छ।

मिर्गौलाको आकार करिब चार–पाँच इन्चको हुन्छ, यो मानिसको मुट्ठीको आकारजस्तै हुने गर्दछ। मिर्गौलाले शरीरमा पानीको मात्रालाई सन्तुलित गर्ने काम गर्दछ। 

यसले रगतमा रहेको विकारलाई फिल्टर गरी पिसाबको माध्यमबाट शरीरबाहिर फाल्ने कार्य गर्दछ। आफ्नो जीवनकालमा प्रत्येक १० जना व्यक्तिमध्ये एकजनामा मूत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ। 

मिर्गौला जोगाउन के-के गर्ने ?

१ - पानी प्रशस्त पिउने। 

२ - दैनिक व्यायाम गर्ने।

३ - तौल नियन्त्रणमा राख्ने। 

४ - सन्तुलित भोजन गर्ने।

के-के नगर्ने ?

१ - धूम्रपान नगर्ने। 

२ - मद्यपान नगर्ने। 

३ - मूत्रप्रणालीमा कुनै किसिमको समस्यामा देखिएमा आफूखुसी औषधि सेवन नगर्ने, चिकित्सकसँग सल्लाह गरेर मात्रै औषधि लिने। 

ध्यान दिनुपर्ने कुरा

मिर्गौलाको पत्थरीबाट जोखिने प्रमुख उपाय नै प्रशस्त पानी पिउने र प्रशस्त पिसाब फेर्ने हो। एउटा वयस्क व्यक्तिले दिनभरिमा कम्तीमा साढे दुईदेखि तीन लिटर पानी पिउनु राम्रो हुन्छ। 

वयस्क व्यक्तिले २४ घण्टामा दुईदेखि साढे दुई लिटर पिसाब फेर्नु राम्रो हुन्छ। त्यस्तै, आफ्नो पिसाबको रंगलाई पनि ध्यान दिनुपर्छ। सामान्य अवस्थामा हल्का पहेँलो (परालको रंगको) पिसाब आउँछ। 

तर, मिर्गौलामा समस्या देखिएमा पिसाबको रंग फरक हुन सक्छ। त्यस्तै, लामो समय पिसाब रोकेर बस्नुहुँदैन। यसले पिसाब थैली र मिर्गौलामा समस्या निम्त्याउन सक्छ र पिसाबको संक्रमण हुन सक्छ। 

धूम्रपान मिर्गौलाको लागि हानिकारक हो। यसले मिर्गौलामा रगतको सञ्चारलाई घटाउने तथ्य विभिन्न सर्वेक्षणले पुष्टि गरिसकेका छन्। धूम्रपानले मूत्रप्रणालीको क्यान्सर गराउने जोखिम पनि रहन्छ। 

साधारणतया मिर्गौलालाई जोखिममा पार्न सक्ने स्वास्थ्य समस्याहरू क्रोनिक किड्नी डिजिज, मिर्गौलाको पत्थरी, मिर्गौलाको क्यान्सर र मिर्गौला फेल हुनु हो। 

उच्च रक्तचाप, डायबिटिज, मूत्रप्रणालीको पत्थरी तथा संक्रमण नै मिर्गौलालाई जोखिमपूर्ण अवस्था ल्याउने प्रमुख कारण हुन्। पिसाबमा रगत देखिएमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गरेर वेलैमा उपचार थाल्नुपर्छ।