काठमाडौं–सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउन दुई तिहाई सांसदको मत जुटाउन सकिनेमा आश्वस्त छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै रानाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए। तर दुई तिहाई मत सुनिश्चित हुन नसक्ने र कांग्रेसभित्र आन्तरिक मतभेद देखिएपछि यो प्रक्रिया तत्कालका लागि रोकिएको हो।
सत्तारूढ गठबन्धनमा भएका १८१ सांसदमध्ये दुई तिहाईका लागि आवश्यक २ मत अपुग भएपछि ओली र देउवा जनमत पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई फकाउने प्रयासमा छन्।
यद्यपि, कांग्रेसभित्र नेता शेखर कोइराला पक्षले फरक मत राखेपछि सभापति देउवा निर्णयमा पुग्न सकेनन्। कोइराला पक्षले रानालाई राजीनामा दिन आग्रह गर्ने र उनलाई हटाउने विषयमा पार्टीका सबै सांसदको हस्ताक्षर जुटाउन संसदीय दलको बैठक राख्नुपर्ने माग गरेको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र यस विषयमा फरक धारणा रहेको स्वीकार गर्दै, सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिले ल्याउने प्रतिवेदनतर्फ ध्यान दिनुपर्ने बताए।
कांग्रेसले असोज ३ गतेसम्म आफ्ना सांसदलाई राजधानीबाहिर नजान ह्वीप जारी गरेको छ। यतिबेला कांग्रेसका ५ सांसद देशबाहिर र ११ सांसद राजधानीबाहिर छन्। कान्तिपुर दैनिकबाट






































