सर्लाही– जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले श्रीमतीको गोली प्रहार गरी हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका–५ निवासी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्ले बिहीबार राति १ बजे गोली हानी हत्या गरेका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादका कारण घटना घटेको खुलासा भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्ले घर आएपछि श्रीमतीसँग विवाद गरेका थिए, जसले हत्या सम्मको रूप लियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार, घटनामा संलग्न युवकले आफ्नो ५४ वर्षीय बुवा रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन्। घाइते रामदिनेश यादवलाई उपचारका लागि अस्पताल लगिएको छ भने प्रहरीले घटनाका दोषीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।






































