काठमाडौं— गैर सरकारी संस्था महासंघले बढ्दो असमानताविरुद्ध आवाज उठाउँदै काठमाडौंमा खबरदारी सभाको आयोजना गरेको छ । महासंघसहित नागरिक समाज र विभिन्न सामाजिक संघ संस्थाले प्राकृतिक स्रोतमा सबैको समान पहुँचको मागसहित खबरदारी सभाको आयोजना गरेका हुन् ।
माघ ५ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने सभामा नागरिक समाजका अगुवासहित सामाजिक संघसंस्थाका पदाधिकारी र अभियान्ताको सहभागिता रहनेछ । सभाले आगामी जनवरी २० देखि २४ सम्म दक्षिण अफ्रिकाको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाज समेट्न खबरदारी गर्नेछ।
खबरदारी सभाबारे जानकारी दिँदै गैरसरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष राम सुवेदी विश्वका सबै नागरिकलाई प्राकृतिक स्रोतमा समान पहुँच पुर्याउने लक्ष्यसहित यो भेला आयोजना गरिएको जानकारी दिए ।
उनले विश्वका एक प्रतिशत नागरिकले नेतृत्व गरेको विश्वको आर्थिक मञ्च अर्थात वल्ड इकोनोमिक फोरमको सम्मेलनलाई ९९ प्रतिशत नागरिकको हक अधिकारका क्षेत्रलाई ख्यालमा राखेर रणनीति बनाउन नागरिक समाजको खबरदारी रहेको बताए ।
सुवेदीले भने, 'हामीले नागरिकस्तरबाटै खबरदारी सभाको आयोजना गरेका हौँ । माघ ५ गते शनिबार दिउँसो एक बजे भृकुटीमण्डपमा हाम्रो खबरदारी सभा हुन्छ । यो नागरिकलाई दु:खदिने हिसाबले नभइ नागरिकको हक र पहुँच स्थापित गर्ने उद्देश्यले हुन्छ ।सबै नागरिक समाजका अगुवा र नागरिक संघ संस्थालाई आफ्नो पहिचान झल्कने व्यानरसहित उपस्थित हुन आह्वान गर्छु ।' गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईले दक्षिण अफ्रिकाको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ५४ औँ सम्मेलनलाई एजेण्डा तय गर्नेगरी नेपालमा खबरदारी सभा आयोजना गरिएको बताए । डाभोसमा आगामी जनवरी २०-२४ मा सम्मेलन हुँदैछ ।
असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासंघको अगुवाइमा खबरदारी सभा हुँदैछ । सभामा नागरिक समाजका प्रतिनिधिसहित विभिन्न सामाजिक संघसंस्थाको सहभागिता रहनेछ ।

महासंघको व्यानरमा, नेपाल एसडीजीएस फोरम, फाइट इनइक्वालिटी, अक्सफाम, एनईडीआई, उन्नती, बाल सरोकार समिति, स्वतन्त्र अभियान,ग्रीन फाउण्डेसन नेपाल, ग्रामिण विकास संस्था, सपोर्ट नेपाललगायतका संघ संस्थाको साझेदारी रहनेछ ।






































