काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको प्रतिष्ठित ‘कोरिया रेलरोड कर्पोरेशन’ का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हान मुन हीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा १२६ वर्ष पुरानो इतिहास बोकेको कोरियन कम्पनीले नेपालको रेलवे पूर्वाधार निर्माणमा सहकार्य गर्न चाहेको इच्छा व्यक्त गरेको छ।
भेटका क्रममा ‘स्काइ वाक’ कम्पनीले प्रस्ताव गरेको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’ — चतराधामदेखि चौरीखर्कसम्मको रेलमार्ग — को एनिमेसन भिडियो समेत प्रस्तुत गरिएको थियो।
छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले जनकपुरमा रेल सेवा सुरु भइसकेको जानकारी दिँदै अन्य स्थानमा रेलवे विस्तारको सम्भाव्यता अध्ययन भइरहेको बताए। यस क्रममा कोरियासँगको सहकार्य सकारात्मक हुने धारणा राखे।
यसअघि कोरियन प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग छुट्टाछुट्टै बैठक गरी संयुक्त कार्यसमूह गठन गरेर अध्ययन अगाडि बढाउने विषयमा समझदारी समेत जनाइसकेको छ।