काठमाडौं— नेपालमा पनि बेला बेलामा बरामद भएको सुनलाई प्रहरीले अदालत लैजाँदा पित्तलमा परिणत भई सुन जस्तो देखिने धातु भनेको सुनिन्छ । त्यस्तै बरामद भएको गाँजा चरेस पनि नक्कली नै भएर निस्किन्छ ।
नेपालमा जस्तै अनौठो घटना छिमेकी देश भारतमा पनि भएको छ । भारतको बिहार राज्यमा बरामद गरेको लागुऔषध चरेसलाई त्यहाँको रेलवे प्रहरीले इँटा र ढुंगामा परिणत गरेपछि हंगामा भएको छ ।
प्रहरीको लापरबाहीको कारण मात्रै नभएर यस्तो घटनामा ठूलो गिरोहको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर ढंगले अनुसन्धान गर्न माग गरेका छन् ।
मोतिहारीमा रेल प्रहरीको कर्तुतले सबैलाई अचम्ममा पारेको छ। केही दिनअघि २४ किलो चरेस बेवारिसे अवस्थामा बरामद गरिएको थियो ।
त्यसलाई अदालका अधिकारीले समेत शिलबन्दी गरेका थिए। तर, जब अदालतमा पेश गरियो, त्यतिखेर चरेसको ठाउँमा इँटा भेटियो।
यो देखेर अदालतका अधिकारी पनि अचम्ममा परे । घटना मोतिहारीको सुगौली रेल थाना अन्तर्गतको हो।
गत मार्च ५ तारिखका दिन आरपीएफ (रेलवे सुरक्षा बल) र सुगौली रेल थाना प्रहरीको संयुक्त कारबाहीमा तीनवटा बेवारिसे झोला सुगौली स्टेशनबाट बरामद गरिएको थियो। खानतलासी गर्दा करिब २४ किलो चरेस भेटिएको थियो ।
इँटा भेटिएपछि खैलाबैला
यस घटनाको आधारमा आरपीएफ इन्चार्ज राजीव रञ्जन प्रताप सिंहको निवेदनमा एफआईआर दर्ता गरिएको थियो।
जाहेरी दर्ता भएको दुई महिनापछि अदालतमा मजिस्ट्रेडसामु जब चरेसका पोका खोलियो, तब त्यहाँ इँटा र ढुंगा निस्कियो । चरेसको सट्टा इँटा भेटिएको समाचार फैलिएपछि अदालत परिसरदेखि रेलवे प्रहरी प्रशासनसम्म हंगामा मच्चिएको छ ।
यसबारेमा सुगौलीका सीओ कुन्दन कुमारले आफ्नैसामु तौल गरेर चरेसलाई सिल गरिएको बताउँदै त्यसपछि के के भयो आफूलाई जानकारी नभएको उल्लेख गरे।
यता रेल एसपी वीणा कुमारीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानको आदेश दिएकी छन्। स्थानीयबासीले यो घटना सुगौली रेल प्रहरीले देखाएको चरम लापरवाहीको प्रमाण भन्दै आलोचना गरेका छन् ।