काठमाडौं— अमेरिकी क्यालिफोर्नियाको सान डिएगोमा बिहीबार बिहान एक सानो निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ। दुर्घटना बाक्लो कुहिरोका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।

‘सेसना ५५० सिटेसन’ नामक सो विमान स्थानीय समय अनुसार बिहान ३:४७ बजे मर्फी क्यान्यन क्षेत्रको आवासीय क्षेत्रमा खस्दा ठूलो क्षति भएको हो। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का अनुसार, विमान विद्युतको तारमा ठोक्किएर खसेको थियो, जसपछि विमानमा आगो लागेको थियो।

दुर्घटनामा चर्चित सङ्गीत व्यवसायी तथा साउन्ड ट्यालेन्ट समूहका सहसंस्थापक डेभ शापिरोसहित सबै ६ जना सवारको ज्यान गएको छ। जमिनमा रहेका बासिन्दामा भने गम्भीर क्षति नभएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

विमानका टुक्राहरू करिब १० घरमा खसेका थिए, जसबाट ती घरमा सामान्य क्षति पुगेको छ। साउन्ड ट्यालेन्ट समूहले वक्तव्य जारी गर्दै शापिरोको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

NTSB का अनुसार, दुर्घटनाको स्पष्ट कारण अझै खुलेको छैन। प्रारम्भिक अनुसन्धानले विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन उपकरणहरू नचलेको संकेत गरेको छ। साथै, पाइलटले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ।

सुरक्षा निकायले प्रारम्भिक अनुसन्धान प्रतिवेदन आउन केही सातासम्म लाग्न सक्ने जनाएको छ।