संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। 


सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। 


१२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाले ओयुन–एर्डेनको पक्षमा र ३८ जनाले विपक्षमा मत दिए। 


दुई हप्तादेखि सयौँ प्रदर्शनकारी, खासगरी युवाहरू, ओयुन–एर्डेनको राजीनामाको माग गर्दै सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले एर्डेनको परिवार, विशेषगरी उनको छोराको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै सम्पत्तिको स्रोतबारे जवाफ मागेका छन्। 


मंगोलियालीहरूले सामाजिक सञ्जालमा ओयुन–एर्डेनको छोराको भव्य विवाह प्रस्ताव र महँगा फेसन सामग्रीका तस्बिरहरू साझा गरेका छन्। ओयुन–एर्डेनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आलोचकहरूले आफूलाई बदनाम गर्न नियोजित अभियान चलाएको दाबी गरेका छन्। 


ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार उनको कार्यकालमा मंगोलियामा भ्रष्टाचार बढेको छ। गत वर्ष सरकारी पारदर्शितामा यो मुलुक १८० देशमध्ये ११४औँ स्थानमा थियो। रूस र चीनबीचको पूर्वकम्युनिस्ट राज्य मंगोलिया १९९० को दशकमा सोभियत संघको पतनपछि प्रजातान्त्रिक मुलुक बनेको हो। भ्रष्टाचार लामो समयदेखि मंगोलियाको ठूलो समस्या बनेको छ।