काठमाडौ— भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर  दुर्घटनाले विश्व हवाई क्षेत्रमा तरंग फैलाएको छ। धावनमार्गबाट उडेपछि केही सेकेन्डमै जमिनमा बजारिएर दुर्घटना हुँदा दुई सयभन्दा बढीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा चालक दलसहित २०० बढी यात्रु र करिब २०–२५ स्थानीयको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ। यो ड्रिमलाइनरको इतिहासमै पहिलो ठूलो दुर्घटना भएको बताइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने, “यो केवल भारतको मात्रै होइन, विश्व हवाई क्षेत्रको लागि ‘ब्ल्याक डे’ हो।”

नेपाल एयरलाइन्सका पूर्व क्याप्टेन केबी पौडेलले मानवीयभन्दा प्राविधिक कमजोरी प्रमुख कारण हुनसक्ने आँकलन गरेको छ।

पूर्वमहानिर्देशक सञ्जीव गौतमका अनुसार, “बोइङ ड्रिमलाइनरजस्तो जहाजको टेकअफको केहि सेकेन्डमै दुर्घटना हुनु गम्भीर प्राविधिक संकेत हो।”

‘मेडे’ सन्देशमार्फत आपतकालीन सूचना पाइलटले एयर ट्राफिक कन्ट्रोललाई दिएकाले इन्जिन फेल वा यान्त्रिक गडबडीको सम्भावना प्रबल देखिन्छ।

अनुसन्धान आइकाओ मापदण्डअनुसार भारतले गर्नेछ, जसको प्रारम्भिक र अन्तिम प्रतिवेदन आइकाओलाई पठाइनेछ।

विमानस्थल नजिकैको बस्तीमा दुर्घटनाले मानवीय क्षति बढाएको र यो घटनाले एयर वर्दिनेस र उडान सुरक्षाप्रति विश्वव्यापी गम्भीर ध्यानाकर्षण गराएको विज्ञहरूको भनाइ छ।