काठमाडौं— फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ । 'बालाजुमा उहाँ सकुशल भेटिनुभएको छ,' प्रहरी प्रवक्ता विनोद घिमिरेले भने । 

अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको नोट फेसबुकमा लेखेर सम्पर्कविहीन भएका थिए ।

दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।

अस्पतालमा काम गर्ने क्रममा आफूविरुद्ध झुटा आरोप लगाइएको, धम्की र दबाब दिइएको उनले उल्लेख गरेका छन् । डा। श्रेष्ठले केही कर्मचारी मिलेर आफूलाई मानसिक रूपमा गलाउने काम गरेको आरोप पनि लगाएका छन् । उनले केही व्यक्तिको नाम नै सार्वजनिक गरेका छन्, जसमा स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य सचिवसम्मको नाम छ ।

रामेछाप अस्पतालबाट आफूलाई राति ९ बजे परिवारसहित काठमाडौं आउन बाध्य पारिएको र स्वास्थ्य मन्त्रालयले सुरक्षा नदिएको गुनासो उनले गरेका छन् । मन्त्रालय र स्थानीय प्रशासनले पनि आफूलाई न्याय र सुरक्षा नदिएको उनको गुनासो छ । केही वर्षअघि मात्र बिहे गरेका डा। श्रेष्ठका २ वर्षकी छोरी र श्रीमती छन् । 

डा. श्रेष्ठले आफूले न्याय पाए मात्र आत्माले शान्ति पाउने पनि लेखेका छन् । उनले भनेका छन्, ‘असत्यको जित भएको देखेर बस्न मन लागेन । मलाई मार्न बाध्य पार्नेहरूलाई कानुनी कारबाही नहुँदासम्म मेरो आत्माले शान्ति पाउने छैन ।’