काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।
गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्।
रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रमा सकुशल फेला पारेको थियो।