काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।
लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।
टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो ।
तेसो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो ।
चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो ।
यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो ।
च्याम्पियन टाइम्सले ट्रफी सहित नगद २ लाख हात पा¥यो । यस्तै उपविजेता गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त ग¥यो ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाईनलमा स्थान बनाएका थिए ।
तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०–७५ ले पराजित गर्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२–१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२–१९ र तेस्रो क्वाटर २२–२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१–५७ ले अघि थियो । चौथो क्वाटर १९–१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।
यस्तै फाईनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३–२१ ले हरायो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए ।
पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो ।
पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।