काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।


विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।


उक्त मुद्दा दृष्टि साप्ताहिकमा “विशेष अदालतमा सेटिङका मुद्दा धमाधम टुंग्याइँदै” भन्ने शीर्षकसहित समाचार प्रकाशित भएपछि उठेको हो। समाचारप्रति आपत्ति जनाउँदै विशेष अदालतका कर्मचारी नवराज सापकोटा, सागर भण्डारी, यज्ञराज रेग्मी, प्रमिला काफ्ले र गरिशा भट्टराईको प्रतिवेदनका आधारमा अदालतको अवहेलना मुद्दा अघि बढाइएको हो।


मुद्दामा सञ्चालक श्रेष्ठ, सम्पादक सुब्बा, दृष्टि अनलाइन र सो मिडिया कम्पनीलाई प्रतिवादी बनाइएको छ। सम्पादक श्रेष्ठले अदालतसमक्ष आफ्नो बयानमा प्रकाशित सामग्रीको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि सो समाचारमा उल्लेख संवाददातालाई बयानका लागि नबोलाइने भएको छ।


साथै, विशेष अदालतले आगामी असार १५ गते बिहान १० बजे साक्षीहरूलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ। अन्तिम सुनुवाइको दिनका लागि अदालतले तीनजना कानुनी विज्ञलाई एमिकस क्युरी ९अदालतको सहयोगी० का रूपमा तोक्न विशेष अदालत बार एसोसिएसनलाई अनुरोध गर्दै पत्र पठाउने भनिएको छ।