एजेन्सी - इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा इरानमाथि अमेरिकी बम खसाउनका लागि राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटर लिन्डसे ग्राहमले मनाएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।
साउथ क्यारोलाइनाका रिपब्लिकन सिनेटर ग्राहम कट्टर युद्धपक्षधर सांसद हुन् ।
ट्रम्पले इजरायल इरान द्वन्द्व रोक्नका लागि कस्तो कदम चाल्ने भनी सोचिरहेको बेलामा ग्राहमले नै इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्नका लागि बम आक्रमणको सल्लाह दिएका हुन् । इरानले आणविक कार्यक्रम पुनः सुरु गरेमा के गर्ने भनेर पनि ग्राहमले ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।
यसअघि ट्रम्पसँग धेरैपटक झगडा गरिसकेका ग्राहमले फेरि ट्रम्पसँग नजिकिनका लागि प्रयास गरिरहेका छन् । विशेषगरी, सन् २०२१ को जनवरी ६ मा ट्रम्पसमर्थकहरूले संसद् भवनमा उपद्रो मच्चाएपछि ग्राहमले ट्रम्पको आलोचना गरेका थिए ।
अमेरिकी वायुसेनाका वकिलका रूपमा काम गरिसकेका ग्राहमले इरानविरुद्ध आक्रामक सोच राख्दै आएका छन् । इरानमाथि आक्रमण गरेर झुकाउन सकिने तर्क राख्दै उनले ट्रम्पलाई हवाई आक्रमणका लागि सल्लाह दिएका हुन् । ग्राहमले इरानमा सत्तापरिवर्तनका लागि पनि निरन्तर पैरवी गर्दै आएका छन् ।
ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननले ट्रम्पलाई इरानमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । इरानमाथि अमेरिकाले आक्रमण गर्नुभन्दा ठीक अघि ह्वाइट हाउसमा ट्रम्पसँग दिवाभोज खाने क्रममा पनि ब्याननले ट्रम्पलाई आक्रमणबाट विमुख बनाउन खोजेका थिए । ग्राहमलाई अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट रोक्न पक्राउ गर्नुपर्ने वा पासपोर्ट रद्द गर्नुपर्ने ब्याननको भनाइ छ ।
प्रभावशाली पत्रकार टकर कार्लसनले अमेरिकामा ग्राहमको असर विनाशकारी रहेको बताएका छन् ।
ग्राहमले रुसका विरुद्ध युक्रेनलाई उभ्याउन र रुसको सत्तापलट गराउनका लागि निरन्तर पैरवी गर्दै आएका छन् ।