काठमाडौं — फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी समुद्रमा छोडिएको भन्दै लगाइएको प्रतिबन्ध दुई वर्षपछि चीनले हटाएको छ। चीनले अब जापानका अधिकांश क्षेत्रबाट सर्तसहित समुद्री खाना आयात सुरु गर्ने भएको हो।

तर यो निर्णय जापानका सबै प्रान्तमा लागू हुने छैन। टोकियो र फुकुशिमासहित ४७ मध्ये १० प्रिफेक्चरबाट आयात अझै प्रतिबन्धित नै रहनेछ।

चीनको सामान्य भन्सार प्रशासनले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा फुकुशिमाबाट समुद्रमा छोडिएको पानीको दीर्घकालीन अनुगमनमा कुनै असमान्यता नदेखिएको उल्लेख छ।

सन् २०११ मा आएको विनाशकारी सुनामीका कारण जापानको उत्तर–पूर्वी क्षेत्रस्थित फुकुशिमा आणविक प्लान्टका तीन रिएक्टरमा गम्भीर क्षति पुगेको थियो। यो घटना चेर्नोबिलपछिको सबैभन्दा ठूलो आणविक दुर्घटना मानिन्छ।

उक्त दुर्घटनापछि प्लान्टमा जम्मा भएको १० लाख टनभन्दा बढी फोहोर पानीलाई प्रशोधन गरेर राखिएको थियो। जापानले सन् २०२३ देखि सो पानीलाई सागरमा छोड्न थालेको हो।