काठमाडौं — नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट असहमति जनाउँदै बाहिरिएका छन्। शिक्षक पदपूर्तिको प्रक्रिया ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने सरकारी प्रस्तावमा सहमति नजुटेपछि उनीहरू बैठक छाडेका हुन्।
महासंघका महासचिव तुलाबहादुर थापाले सरकारसँग पहिले नै ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाको सहमति भएको दाबी गर्दै भने, “सरकारले पटक–पटक हामीसँग ७५/२५ मा सहमति गरिसकेको छ। हामीले त्यही माग राख्यौं, तर उहाँहरूले शिक्षा विधेयक ७५/२५ मा अगाडि बढाउन नसकिने बताएपछि हामी बैठकबाट निस्कियौं।”
सोमबार बिहान ८ बजेका लागि बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि शिक्षकसँगको वार्ताका कारण दिउँसो २ बजेसम्म सारिएको थियो।
बैठकमा महासचिव थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहभागी थिए।
महासंघले आफूहरूसँग भएको अघिल्लो सहमतिअनुसार ‘अग्रगामी’ शिक्षा विधेयक पारित नभए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।