भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लास्थित एक औषधि उद्योगमा सोमबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमै ३१ जनाको ज्यान गएको हो भने उपचारको क्रममा थप ३ जनाले अस्पतालमा ज्यान गुमाएका छन्। घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्।

विष्फोट तेलंगानाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान भएको हो। विष्फोटको कारण उद्योगको मुख्य भवन ध्वस्त भएको छ। भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा घटनास्थलमा आगलागी भएको देखिन्छ।

विष्फोटको कारणबारे अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट जनही २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्ने घोषणा गरेका छन्।