भक्तपुर— भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक लाख रुपैयाँसहित सम्मान गरेका छन् ।
उनले गोमालाई एमबीबीएससम्म पढाउने जिम्मा पनि लिएका छन् । गोमाले हालै आएको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेपछि चर्चित भएकी छन् ।
इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले स्कुल जानुअघि बिहान र स्कुलबाट आएपछि साँझ इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन् ।
गोमा एसईईको नतिजाका दिन पनि स्थानीय किसानकहाँ धान रोपाइँमा गएकी थिइन् । त्यहाँबाट फर्किने क्रममा एसईईको नतिजा सार्वजनिक भएको उनले थाहा पाएकी थिइन् ।
गोमाले ४ जीपीए ल्याएको देखेपछि परिवार र आफन्त खुशी भएका थिए । विद्यालयमा नियमित अध्ययनसँगै बिहान र साँझ इँटा भट्टामा काम गर्दै आएकी उनलाई अब उच्च शिक्षाको ढोका पनि खुलेको छ।
गोमाले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी थिइन्। ‘असल डाक्टर बनेर जन्मदाता, देश र जनताको निःस्वार्थ सेवा गर्नु नै मेरो लक्ष्य हो,’ उनले भनेकी थिइन् । उनको त्यही लक्ष्यलाई साथ दिएर मीनबहादुरले एमबीबीएससम्म पढाइदिने भएका हुन् ।