काठमाडौँ — दक्षिण अमेरिकी राष्ट्र सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छन्। संसद्ले डा. जेनिफर गियरलिंग्स–साइमन्सलाई आइतबार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा चयन गरेको हो।
नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गरिरहेकी जेनिफरले आगामी जुलाई १६ मा राष्ट्रपति पदको शपथ लिनेछिन्। सुरिनामको राष्ट्रिय सभाले दुई तिहाइ बहुमतले उनलाई राष्ट्रपति पदका लागि अनुमोदन गरेको हो।
पूर्व सांसद तथा कांग्रेस सदस्य रहेकी जेनिफरले मे महिनामा भएको निर्वाचनपछि वर्तमान नेताविरुद्ध गठबन्धन बनाउँदै निर्विरोध रूपमा चुनाव जितेकी हुन्। यो राजनीतिक परिवर्तनको पृष्ठभूमिमा सुरिनामले आफ्नो समुद्री क्षेत्रमा तेल फेला परेको छ र सरकारले सन् २०२८ भित्रै तेल उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले भनिन्, “राष्ट्रपतिको पद गम्भीर जिम्मेवारी हो। यो पदमा पुगेकी पहिलो महिला भएको नाताले मेरो कर्तव्य झनै बढेको छ।”
सुरिनाम करिब ६ लाख ४६ हजार जनसंख्या भएको डच भाषी मुलुक हो, जुन हाल आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको छ।