मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आलियाको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्रा. लि.’ र आलियाको व्यक्तिगत बैंक खाताबाट अवैध रूपमा झण्डै ७७ लाख रुपैयाँ निकालेको आरोप लागेको हो।
जुहू प्रहरीले दर्ता गरेको यो मुद्दामा हाल अनुसन्धान जारी छ। रिपोर्ट अनुसार, शेट्टीले आलियाका नक्कली हस्ताक्षर गरेर दुई वर्षको अवधिमा रकम निकालेकी थिइन्। उक्त उजुरी केही महिनाअघि आलियाकी आमा सोनी राजदानले दिएकी थिइन्। करिब पाँच महिनापछि प्रहरीले शेट्टीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।
हालसम्म अभिनेत्री आलिया भट्ट वा उनको टिमले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
आलिया भट्टले २०२१ मा ‘इटर्नल सनशाइन प्रोडक्सन’ स्थापना गरेकी हुन्। यस कम्पनीअन्तर्गत निर्माण भएको पहिलो फिल्म ‘डार्लिङ्स’ हो, जुन शाहरुख खानको रेड चिलीज इन्टरटेनमेन्टसँग मिलेर बनाइएको थियो। फिल्ममा आलिया भट्ट, विजय वर्मा र शेफाली शाह मुख्य भूमिकामा थिए र नेटफ्लिक्समा रिलिज भएको थियो।
अहिले आलिया ‘अल्फा’ नामक स्पाइ युनिभर्स फिल्मको छायाङ्कनमा व्यस्त छिन्, जसमा शर्वरी वाघ पनि देखिनेछिन्। यो फिल्म २५ डिसेम्बर २०२५ मा रिलिज हुने छ।
यसैगरी, उनी चाँडै नै पति रणवीर कपूर र विक्की कौशलसँग सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ फिल्ममा देखा पर्नेछिन्। साथै, फरहान अख्तरको ‘जी ले जरा’ फिल्म पनि आलियाको आगामी प्रोजेक्टमध्ये पर्छ।