काठमाडौं— बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले मिर्गौला पीडितहरूलाई लक्षित गर्दै प्रदेशका विभिन्न अस्पतालमा डायलासिस मेसिन जडान गरेको छ। सरकारी अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई घटाउने उद्देश्यले १६ वटा डायलासिस मेसिन जडान गरिएको हो।

स्वास्थ्य मन्त्री किरण थापाका अनुसार भक्तपुर अस्पतालमा पाँच वटा डायलासिस मेसिन जडान गरिएको छ। यसबाहेक, धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा मेसिन जडान गरिएको छ।

मन्त्री थापाले अब मिर्गौलाका बिरामीहरूले नजिकको अस्पतालमै डायलासिस सेवा पाउने हुँदा निजी अस्पतालमा एक पटकको २५ सय रुपैयाँ खर्च गर्नु नपर्ने बताए। उनले आगामी दिनमा थप उपकरण विस्तार गर्दै सेवा प्रवाह सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार नयाँ मेसिन प्राप्त भएसँगै अस्पतालले तत्काल पाँच शय्याको डायलासिस सेवा सुरु गर्ने तयारी गरेको छ। यो सेवा सुरु भएपछि भक्तपुर तथा आसपासका मिर्गौला पीडितहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।