बङ्गलादेश — अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच गोपालगञ्जमा भएको हिंसात्मक झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनापछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ।

झडप बुधबार शेख हसिनाको गृहनगर गोपालगञ्जमा भएको हो। प्रहरीले जानकारी दिएअनुसार हसिनाको अवामी लिग पार्टीका कार्यकर्ताहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी)को ¥याली विफल पार्ने प्रयास गर्दा झडप सुरु भएको थियो। घटनास्थलमा इँटा, ढुङ्गा र फुटेका सिसाहरू विझारिएको देखिएको छ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले गोपालगञ्जमा कफ्र्यू आदेश जारी गर्दै एक हजार ५०० भन्दा बढी प्रहरी, सेना र सीमा सुरक्षा बल तैनाथ गरेको छ। बिहीबार जारी प्रहरी विज्ञप्तिमा भनिएको छ, “गोपालगञ्जमा कानुनी व्यवस्था हाल शान्त र सामान्य अवस्थामा फर्किएको छ।”

झडपपछि गोपालगञ्ज जिल्ला अस्पतालमा चार जनाको शव ल्याइएको अस्पताल निर्देशक जीवितेश विश्वासले पुष्टि गरे। उनले बताए अनुसार, गोली लागेर घाइते भएका १८ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तीमध्ये तीन जनालाई छाती, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।

१८ वर्षीय रमजन शेखको गोली लागेर मृत्यु भएको पुष्टि गर्दै उनका काका मोहम्मद कलिम मुंशीले एएफपीलाई भने, “उनीहरूको छातीमाथि कुल्चिएको थियो। अस्पतालमा पुग्दा रमजनको शरीर रगतले लतपतिएको थियो।” यद्यपि, एएफपीले घटनासम्बन्धी दावीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

बङ्गलादेशी सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि भीड अनियन्त्रित भएपछि प्रहरीसँगै उनीहरूले हस्तक्षेप गरेका थिए। "तर सुरक्षाकर्मीको उपस्थितिपछि भीड अझ आक्रोशित बन्यो, जसका कारण आत्मरक्षाका लागि बल प्रयोग गर्नु परेको हो," विज्ञप्तिमा उल्लेख छ।

गोपालगञ्जका एक २४ वर्षीय युवकले नाम नखुलाउने सर्तमा भने, “हामी शेख मुजिबुर रहमानप्रति कुनै अनादर सहन सक्दैनौं भन्ने कुरा सत्ताधारी दलले बुझ्नैपर्छ।”

गोपालगञ्ज बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको जन्मस्थल हो। उनकी छोरी शेख हसिनाले यही क्षेत्रबाट चुनाव जितेकी थिइन्।