काठमाडौं — सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार दक्षिणी सिरियामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपमा कम्तीमा ५९४ जनाले ज्यान गुमाएका छन्। बेलायतस्थित मानव अधिकार संस्थाले हिंसा आइतबारदेखि सुरु भएको र त्यसमा चरम क्रूरता देखिएको जनाएको छ।
मृतकमध्ये करिब ३०० जना ड्रुज समुदायका हुन्, जसमा १४६ जना लडाकु र १५४ सर्वसाधारण रहेका छन्। तीमध्ये ८३ जना सर्वसाधारणलाई सरकारी सेनाले कुनै मुद्दा नचलाई गोली हानेर मारेको दाबी गरिएको छ।
यस हिंसामा बेदुइन समुदायका १८ जना लडाकु र सिरियाली सरकार पक्षका २५७ सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाएको छ। साथै, ड्रुज लडाकुहरूले पनि कुनै कानुनी प्रक्रिया विना तीन जना बेदुइन नागरिकको हत्या गरेका थिए।
यसैबीच, इजरायली हवाई आक्रमणमा थप १५ जना सिरियाली सरकारी सुरक्षाकर्मी मारिएको रिपोर्टमा उल्लेख छ। इजरायलले भने उक्त आक्रमण ड्रुज समुदायको सुरक्षाका लागि गरिएको जनाएको छ।