धनुषा — महोत्तरीको गौशाला बजारमा गोरु तथा खसी बजारको राजस्व संकलनको विषयमा दुई पक्षबीच दोहोरो झडप हुँदा झन्डै १५ जना घाइते भएका छन्। झडप निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच ठेक्का तथा राजस्व संकलनको अधिकारलाई लिएर भएको हो।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालातर्फबाट राजस्व संकलन गरिरहेका विपिन साहको टोली र गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्याम मण्डलको टोलीबीच झडप भएको हो। भिडन्तमा वडाध्यक्ष मण्डलसहित सचिन महतो, सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा घाइते भएका छन्। मण्डलको कानमा गहिरो चोट लागेको बताइएको छ।
त्यस्तै विपिन साह र सुनिल साहको टाउकोमा गम्भीर चोट लागेको छ भने दिपेन्द्र यादव (गब्बर) र सरोज साह सामान्य घाइते भएका छन्। भिडन्तको क्रममा हातहतियारको प्रयोग भएको र आक्रमण योजनाबद्ध देखिएको स्थानीयवासीले बताएका छन्।
झडपकै बीच व्यवसायी प्रमोद महतोले साढे ७ लाख रुपैयाँ लुटिएको आरोप लगाएका छन्। उनका अनुसार झडपका बेला बा.प्र. ०१–०२७ च ९७४७ नम्बरको गाडी तोडफोड गरेर उक्त रकमसहितको झोला लुटिएको हो। उनले सुरेन्द्र महतोमाथि लुटपाटको आरोप लगाएका छन्।
विवादको जड २०७० सालमा गरिएको एक सम्झौतामा रहेको बताइएको छ, जसअनुसार गौशाला नगरपालिकाले ठेक्का रकमको २५% निगौल गाई गौशालालाई दिनुपर्ने थियो। तर, त्यो रकम प्राप्त नभएको भन्दै गाई गौशालाले बजार ठेक्का अमानतमा लगाएको र त्यसैको राजस्व संकलनका क्रममा नगरपालिकाले अवरोध गरेको गाई गौशाला व्यवस्थापन कार्यालयले जनाएको छ।
नगरपालिकाले गाई गौशालाको नाममा रहेको जग्गामा पशु बजार सञ्चालन गर्दै आएको छ। निगौल गाई गौशालाले पटक–पटक सम्झौता पालना गर्न अनुरोध गरे पनि नगरपालिकाले बेवास्ता गर्दै आएको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताएका छन्।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।