काठमाडौं – साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ ।
ब्रत बसेर दर्शनका लागि पशुपति मन्दिर पुगेकी रजनी थापाले यस पटक सहज रुपमा दर्शन गर्ने वातावरण मिलेको बताइन् ।
उनले भनिन्, ‘विहान पाँच बजेदेखि लाइन लागेको हुँ । आमा हुनुभएकाले अलिक सहज भयो । पोहोर सालभन्दा बृद्धबृद्धाहरुलाई सहज वातावरण छ । लाइन छिट्टै सरेको छ । हरेक बर्षको साउने सोमबारमा ब्रत बस्ने गरेकालाई पावन अवसर लाग्छ । भोलेनाथको महिना भएकाले पनि ब्रत बसिन्छ ।’
यस्तै दर्शनकै लागि पशुपति पुगेकी देवी थापाले व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने विश्वास लागेको बताइन् ।
‘शिवजीको आराधना गरेर ब्रत बसेर पशुपति दर्शन गर्न आएको हुँ । यसपाली अलिक सहज लाग्यो । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ,’ उनले भनिन् ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत रहेको छ ।
पशुपति क्षेत्र विकास कोषले पनि साउन महिनाभर विशेषतः सोमबारका दिनहरुमा भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष तयारी गरेको जनाएको छ ।
कोषका अनुसार निःशुल्क खानेपानी, मोबाइल शौचालय र स्वास्थ्य सहायता केन्द्रको व्यवस्था, दर्शन व्यस्थापनको लागि प्रवेश र निकासको स्पष्ट रेखांकन तथा प्रहरी सहायताको व्यवस्था, स्वयंसेवक, प्रहरी र सुरक्षाकर्मीको समन्वयमा लाइन व्यस्थापन, आन्तरिक सरसफाई तथा फोहोर व्यवस्थापन, भीड नियन्त्रणका लागि सिसिटिभी निगरानी र सूचना प्रणालीको व्यवस्था, भक्तजनलाई सहयोग पुग्ने उद्देश्यले सूचनाकक्ष एवं माइकमार्फत सूचना प्रसारणको प्रयोगबाट नियमित जानकारीको व्यवस्था, विशेष पूजाका लागि विशेष लाइनमार्फत व्यवस्था, भक्तजनको आवतजावत सहजीकरणको लागि निःशुल्क बस सेवाको व्यवस्था , भक्तजनहरूको सहजताकालागि खोज तलास केन्द्रको व्यवस्थालगायतको सुविधा मिलाइएको छ ।