भक्तपुर — भक्तपुरमा मयुर यातायातको बसको ठक्करबाट एक ७१ वर्षीया वृद्धाको ज्यान गएको छ।

मंगलबार बिहान करिब ११:१५ बजे सूर्यविनायक नगरपालिका–८ इटभुचोकमा काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसले सडक पार गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार मृत्यु हुने महिला भक्तपुर नगरपालिका–४ मंगलाछेँ स्थायी घर भई हाल आदर्श टोलमा बसोबास गर्दै आएकी सुवर्णकेशरी श्रेष्ठ हुन्। उनीलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।

ठक्कर दिने बस र त्यसका चालक नुवाकोट शिवपुरी गाउँपालिका–२ छाप घर भई हाल काठमाडौँको नारायणस्थानमा बसोबास गर्दै आएका २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।