हुम्ला— कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डेङ्गु संक्रमणको दर वर्षेनि बढ्दै गएको पाइएको छ। पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,८३३ जना डेङ्गु संक्रमित फेला परेका छन्, जसमा चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरू वीरेन्द्रनगर नगरपालिकाका १,४१६ जना थिए। त्यस्तै गुर्भाकोटमा १४३ जना, पञ्चपुरीमा १३५ जना, लेकबेँसीमा ३८ जना, भेरीगङ्गामा २९ जना, बराहतालमा १७ जना, चौकुनेमा ११ जना, चिङ्गाडमा ९ जना, र सबैभन्दा कम सिम्तामा ६ जना संक्रमित भेटिएका थिए।
जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गु सम्पर्क व्यक्ति उदय बिसी का अनुसार, पछिल्ला वर्षहरूमा संक्रमितको संख्या क्रमशस् बढ्दै गएको छ। २०७७/७८ मा ६३९ जना, २०७८/७९ मा १,३२२ जना, २०७९/८० मा १,४८४ जना, र २०८०/८१ मा घटेर ५७१ जना संक्रमित फेला परेका थिए।
बिसीका अनुसार, परीक्षणको दायरा बढेसँगै संक्रमित संख्या पनि बढ्दै गएको देखिएको हो। संक्रमण फैलिन नदिन सरकारले साउन महिनालाई ‘डेङ्गु सचेतना महिना’ घोषणा गर्दै विभिन्न रोकथाम र सचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ।
डेङ्गुको हालसम्म न औषधि छ, न खोप, त्यसैले व्यक्तिगत तथा सामाजिक सरसफाइ नै यसको प्रमुख रोकथाम उपाय भएको जनस्वास्थ्य सेवा कार्यालयले स्पष्ट पारेको छ। विशेषगरी पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने, र आसपास सफा राख्ने अभ्यासलाई निरन्तरता दिन सबैलाई आग्रह गरिएको छ।