काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले रेबिज र सर्पदंशविरुद्ध प्रयोग हुने खोप तथा औषधि देशका सातै प्रदेशमा आपूर्ति गरेको छ।

विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा। पवनजंग रायमाझीका अनुसार यसअघि खरिद गरिएका औषधिहरू प्रदेश स्वास्थ्य संस्थामा वितरणका लागि सम्बन्धित आपूर्ति केन्द्रमा पठाइसकिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खोप र औषधिको अभाव नहोस् भनेर मातहतका निकायलाई तत्काल आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका थिए।

विभागका अनुसार हालसम्म ५१ हजार १८० भायल रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ। तीमध्ये सबैभन्दा धेरै १० हजार ८० भायल वाग्मती प्रदेशमा पठाइएको हो। साथै, वाग्मतीमा सर्पदंशविरुद्धको १ हजार भायल भेनम पनि आपूर्ति गरिएको छ।

मधेस प्रदेशमा भने सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी— २ हजार ५०० भायल, साथै रेबिजविरुद्धको ५ हजार भायल खोप आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार अन्य प्रदेशहरूमा पनि आवश्यकता र मागको आधारमा रेबिज र भेनम औषधिहरू आपूर्ति गरिएको छ।